आज महाशिवरात्रि पर्व । देशभरका शिवालयमा भगवान शिवको पूजा आराधना गरी मनाइँदैछ ।शिवको अर्थ हुन्छ– कल्याण । भगवान शिवले सबैलाई कल्याण गर्नुहुन्छ । त्यसमाथि हाम्रो सनातन धर्म संस्कृतिमा विभिन्न चाड पर्वहरू छन्,

तीमध्ये रातको नामबाट नामकरण भएका रात्रि नामक चार प्रमुख पवित्र रात्रिहरु छन् ।  जस्तो कृष्ण भगवान जन्मिएको रात्रिलाई मोहरात्रि, नवरात्रको महाअष्टमीमा कालरात्रि, लक्ष्मीपूजाको दिनलाई सुखरात्रि र भगवान शिवको प्रिय दिन महाशिवरात्रि ।व्रत र उत्सवमध्ये सबैभन्दा उत्तम कहलिएको महाशिवरात्रिका दिन भक्तजनहरु शुद्ध

भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र भगवान शिवको प्रिय वस्तु दूध र बेलपत्र चढाउने गर्छन् । महाशिवरात्रिका दिन उपवास गरी ॐ नमः शिवायः वा नमः शिवायः मन्त्र मात्रै जपे पनि सर्वसिद्धि प्राप्ति हुने धार्मिक विश्वास रहेको छ ।

शिवप्रिया रात्रिः शिवरात्रिः शिवरात्रिको महत्व व्याधाको कथासँग जोडिएको छ । मृग मार्न गएको व्याधाले मृग पर्खाइमा अज्ञानवश चढाएको बेलपुष्पले नै मोक्ष प्राप्त गरेकाले यस दिनको विशेष महत्व रहेको राष्ट्रिय धर्मसभा नेपालका अध्यक्ष प्रा.डा. माधव भट्टराईले बताए ।

कल्याणकारक भगवान् शिवको अतिप्रिय रात्रिको नाम नै शिवरात्रि हो । शिवरात्रिको पर्वलाई पर्वको राजा भनिन्छ । शिवरात्रिको शिवतत्वसँग घनिष्ठ सम्बन्ध छ त्यसैलाई शिवरात्रि भनिन्छ । यस दिन शिवार्चनका साथै रात्रि–जागरणको विशेष महत्व भएकोले

कल्याण चाहने साधकहरुले रातभर जाग्रामसहित विधिपूर्वक व्रत गर्नु पर्ने शास्त्रीय मान्यता छ । भगवान शिव दिव्य ज्योतिर्लिंग स्वरुपमा प्रकट भएको रात्रि नै महाशिवरात्रि हो । महाशिवरात्रिको

यस दिन व्रतोपवास गर्ने साधकले शिव लाई शीघ्र प्रसन्न पार्न सक्दछ भन्ने विश्वास छ । शिवरात्रिका दिन नै ब्रह्माले रूद्ररुपी शिवजी लाई उत्पन्न गरको मान्यता राखिन्छ । यसै दिन शिव पार्वतीको

विवाह भएको थियो । यसै दिन भगवान शिवले ज्योतिर्लिंग स्वरुपमा उत्पन्न भई ब्रह्मा र विष्णु लाई दर्शन दिएका थिए । निर्जल व्रत, रात्रि जागरण, चार प्रहरको पूजा, शिवलिंगमा दूग्धाभिषेक र शिव महिमा, कीर्तन, शिवरात्रिको पूजाअर्चनाका मुख्य अंग मानिन्छन् । शिवरात्रिको पालना गर्नाले भुक्ति र मुक्ति दुवै प्राप्ति हुन्छ भन्ने शास्त्रीय मान्यता छ ।