जालन्धर भगवान् शिवको तेजबाट उत्पन्न भएका शिवकै छोरा थिए । जालन्धर लक्ष्मीको भाइ अर्थात् समुन्द्रको पुत्रसमेत हुन् । खेयर जो भए पनि असुर जालन्धर भगवान शिवको सबैभन्दा ठूलो शत्रु भन्ने बुझिन्छ ।

पुराणका अनुसार जालन्धर शिवकै अंश थियो तर यो कुरा उसलाई थाहा थिएन । जालन्धर निकै शक्तिशाली थियो । यमराज समेत ऊसँग डराउने भएको हुनाले जालन्धरलाई कसैको डर थिएन । पुराणका अनुसार एक पटक भगवान शिवले आफ्नो तेज समुन्द्रमा फ्याँकिदिएका थिए जसबाट जालन्धरको उत्पत्ति भएको थियो ।

उसकी पत्नी वृन्दाका कारण उसमा अपार शक्ति रहेको कुरा स्कन्द पुराणअन्तर्गतको केदारखण्ड माघ महात्म्य अर्थात् स्वस्थानी व्रत कथामा बताइएको छ । वृन्दाको पतिव्रत धर्मका कारण सम्पूर्ण देवीदेवता मिलेर

पनि जालन्धरलाई नोक्सान पुर्याउन सक्दैनथे । उसलाई आफू शक्तिशाली भएकोमा निक्कै घमण्ड पनि थियो । यसैको बलमा ऊ देवताहरुका पत्नीहरुलाई समेत बलजफ्ती गर्दथ्यो ।

देवताहरुले एक योजना बनाई वृन्दाको पतिव्रता धर्म नष्ट गर्ने विचार गरे । सोहीअनुसार विष्णु जालन्धरको भेष धारण गरी वृन्दा भएठाउँ गए । वृन्दाले विष्णुलाई आफ्नो पति ठानेर रात परेपश्चात समागम गरे जसबाट वृन्दाको पतिव्रत धर्म नाश भयो । यता वृन्दाको

पतिव्रत धर्म नष्ट भएसंगै शिवले त्रिशूल प्रहार गरी जालन्धरलाई मारिदिए । विष्णुद्वारा सतीत्व भंग भएर आफ्ना पतिले मृत्युवरण गर्नुपरेको कुरा थाहा भएपछि वृन्दाले विष्णुलाई श्राप दिइन् । उनले विष्णुलाई झार हुनु परोस्, घाँस हुनु परोस्, रुख हुनु परोस् अनि ढुंगा हुनु परोस् भनी श्राप दिएकी थिइन् । फल स्वरुप विष्णुले पीपल, तुलसी, कुश र शालिग्राम बननुपरेको हो ।