धर्म एउटा सजिलो शब्द हो । दैनिक जीवनमा धर्मको प्रयोग प्रायः हुने गर्छ । यसको लागि कुनै योग्यता या शिक्षा हासिल गर्नुपर्दैन । यो एउटा स्वाभाविक तरिकाले अभिव्यक्त हुने शब्द हो ।
धर्म भन्नाले हामीले असल काम, परोपकारी काम र सकारात्मक काम सम्झन्छौँ । कसले भन्छ धर्म गर्नुपर्दैन अथवा राम्रो होइन ? धर्म ईश्वरसित जोडिएको शब्द पनि हो । जीवन मृत्युसँग पनि उत्तिकै सामीप्यता भएको अभिव्यक्ति पनि हो । त्यसैकारणले यो मानिसको आस्था र विश्वाससित सम्बन्धित छ ।
चाहे ईश्वरलाई पाउने उद्देश्यले होस् या पुण्य कमाउने लक्षले होस्, हामीले क्षणक्षणमा धर्म गर्नुपर्छ भनेर फलाकिरहन्छौं ।तर धर्म एउटा साह्रै अप्ठेरो शब्द पनि हो । यसलाई सही मानेमा बुझ्न कठिन छ ।
यसको गहराइमा पुग्न अझ कठिन छ । जुन प्रकारले आजको संसारमा यसलाई बुझिएको छ त्यो भ्रमात्मक पाइएको छ । विवाद नै हुनुनपर्ने शब्द र धर्ममाथि यति धेरै विवाद विषमता र विकार
देखिनु दुःखलाग्दो विषय हो । यसको मुख्य कारण धर्म शब्दको प्रयोग सीमित दायरामा भएकाले हो । नेपाल, भारत र यी देशहरूमा बोलिने भाषाहरू प्रयोग हुने अन्य मुलुकमा धर्मलाई अंग्रेजी शब्द
रिलिजनको पर्याय सम्झिन्छ । त्यसैकारण हिन्दु धर्म इस्लाम धर्म बुद्ध धर्म क्रिस्चियन धर्म भन्ने गरिन्छ । यसै सीमित प्रयोगबाट भ्रम सुरु हुने गरेको छ । हिन्दु इस्लाम बुद्ध अथवा क्रिस्चियन आस्था
विश्वास र सम्प्रदाय हो । ती आस्थामा विश्वास गर्नेहरूले आआफ्ना धार्मिक ग्रन्थहरू र परम्पराको अनुसरण गर्छन् ।यही अनुसरण गर्नेक्रममा यिनका अनुयायीहरूका बीचमा
अनेक विवाद द्वन्द्व र झैझगडा हुने गर्छ । हुँदाहुँदा यस्तो झगडा राजनीतिक रूपमा पनि हुने गर्छ । यसबाट आतंकवादको सिर्जना भएको छ । यसले केही आस्थाहरूको बद्नाम पनि गराएको छ ।
यसबाट न यिनका अनुयायीहरू सन्तुष्ट छन् न त आलोचकहरू सही देखिन्छन् । यसबाट त्राण पाउनु आजको युगको एउटा ठूलो चुनौती बनेको छ । धर्म एक संस्कृत भाषाको शब्द हो ।
पूर्वीय आस्थाहरूमा यो शब्दको प्रयोग विभिन्न किसिमले भएको पाइन्छ । पूर्वीय र पश्चिमी देशका विद्वान्ह रू एउटा कुरामा सहमत भएका छन् कि धर्म शब्दको पर्यायवाची शब्द कुनै पनि पश्चिमी भाषामा छैन ।
यसकारण प्रायः धर्मको उल्था रिलिजन ९चभष्निष्यल० ले गर्ने गरिन्थ्यो भने आजभोलि अंग्रेजीमा यसको उल्था राइटियस्नेस भनेर गरिन्छ । राइटियस्नेस भन्नाले सही कुरा न्यायोचित कुरा नैतिक
कुरा आदि बुझिन्छ । तर यो अभिव्यक्तिले धर्मको मर्म बुझाउन सक्दैन । धर्मको मर्म योभन्दा पनि धेरै फराकिलो छ । हुन त धर्मले यी भावनालाई पनि समेट्छ तर धर्मले योभन्दा पनि फराकिलो भावनालाई जनाउँछ ।
हिन्दु आस्थामा धर्म भन्नाले त्यो व्यवस्थालाई जनाउँछ, जसबाट प्राणी र ब्रह्माण्डको सम्बन्ध कायम भएको छ । यसले स्वभाव कर्तव्य अधिकार कानुन व्यवहार गुण र जिउने सही तरिका
आदिलाई जनाउँछ । बुद्ध आस्थामा धर्मले ब्रह्माण्डको नियम कानुनलाई बुझाउँछ तर यसबाट बुद्धले प्रतिपादित गरेका शिक्षादीक्षालाई पनि समेट्छ । त्यसैगरी जैन आस्थाले तीर्थंकरद्वारा
प्रतिपादित शिक्षादीक्षालाई जनाउनुका साथै मानव जातिको नैतिक उत्थान र शुद्धीकरणका उपायहरूलाई पनि समेटेको छ । जुन जीवन शैली र दर्शनलाई धारण गरिन्छ त्यो नै धर्म हो
भनेर मानिन्छ । मानिस जुन विचार आचरण र धारणा धारण गर्छ त्यो नै धर्म हो । त्यसैले मानव समाजमा अनेक धार्मिक आस्था विकास भएको हो । धर्मलाई परिभाषित गर्नु कठिन मानिएको छ ।
किनभने यो शब्दको लामो र अनेकताले भरिएको इतिहास पाइन्छ र यसले अनेक किसिमका अभिव्यक्ति जनाउने गरेको पाइन्छ । त्यसैले अरू भाषामा यसको पर्यायवाची पाउन नसकिएको हो । अंग्रेजी फ्रेन्च र जर्मन भाषामा यसको उल्था गर्न प्रयत्न गरेका विद्वान्हरूले यो काम अति कठिन भएको स्वीकार गरेका छन् ।