पहिला त बारम्बार गर्भपतन केलाई भन्ने त्यो बुझ्न जरुरी छ । पाठेघरमा भ्रूण बसेको २२ हप्ताभित्रै गर्भ खेर गएमा त्यसलाई गर्भपतन भनेर बुझिन्छ । कुनै पनि महिलाको दुई वा सोभन्दा बढी प्राकृतिक रुपमै गर्भ खेर गएको

अवस्थालाई बारम्बार गर्भपतन भएको बुझ्न सकिन्छ । बारम्बार गर्भपतन धेरैजसो पहिलो र दोस्रो त्रैमासिकमा हुन्छ । गर्भावस्थालाई तीन चरणमा विभाजन गरिन्छ– पहिलो, दोस्रो र तेस्रो त्रैमासिक । भ्रूण गर्भमा बसेदेखि तीन महिनाको अवधि अर्थात् १२ हप्तासम्मलाई पहिलो त्रैमासिक, १३ हप्तादेखि २८ हप्तासम्मलाई दोस्रो र २९ हप्तादेखि ४० हप्तासम्मलाई तेस्रो त्रैमासिक भनिन्छ ।

गर्भ रहेको तीन र ६ महिनाभित्र गर्भपतनको जोखिम उच्च हुन्छ । पहिलो त्रैमासिकमा गर्भपतन हुने मुख्य कारण क्रोमोजोमको गडबडी हो । जुन वंशाणुगत रुपमै आएको हुन्छ । जसलाई ‘क्रोमोजोमल डिफेक्ट’ भनिन्छ । यसमा डिम्बाशय वा शुक्रकीटको

गुणस्तरमा खराबी देखिन्छ । जसले गर्दा गर्भ बसेपनि भ्रूण स्वस्थ हुँदैन र राम्रोसँग वृद्धि विकास हुन पाउँदैन । त्यसैले गर्भपतन हुने गर्छ । पहिलो त्रैमासिकमा हुने करिब ५० प्रतिशत गर्भपतन क्रोमोजोमको खराबीको कारण हुन्छ । हाम्रो शरीरमा

हुने सानोसानो कोषिकाहरु, जुन हाम्रो शरीरमा आमाबुबाबाट आएको हुन्छ, त्यसमा केही खराबी देखिएमा गर्भपतन हुनसक्छ । अनियन्त्रित थाइराइडको समस्या, मधुमेह भएमा पनि गर्भपतन हुनसक्छ । तर थाइराइड र मधुमेहलाई औषधिबाट

नियन्त्रणमा राखेको छ भने केही फरक पर्दैन । मोटोपनको कारण समेत गर्भपतन हुनसक्छ । त्यस्तै गर्भावस्थामा धुम्रपान, मद्यपान गरेमा पनि गर्भपतन हुने सम्भावना बढी हुन्छ । अब के गर्ने त ? सन्तानको योजना बनाएका दम्पती, जसको

बारम्बार गर्भपतन भइसकेको छ, उनीहरुले गर्भधारण गर्नु दुई-तीन महिनाअघि नै प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । के कारणले गर्भपतन भइरहेको छ भन्ने परीक्षण गरेपछि सही समाधान खोज्न सकिन्छ । यदि केही

समस्या देखिएको छैन, कुनै रोग लागेको छैन, शुक्रकीट र डिम्बाशयमा पनि कुनै समस्या देखिएको छैन भने बल्ल गर्भधारण गर्न सकिन्छ । गर्भधारण गर्नु दुई-तीन महिनाअघिदेखि नै फोलिक एसिड सेवन गर्नुपर्छ । यसले गर्भधारण गर्न सहज बनाउँछ ।

दोस्रो त्रैमासिकमा हुने गर्भपतनमा पाठेघरको विभिन्न समस्याका कारण गर्भपतन हुने गर्छ । जन्मजात पाठेघरको बनावटमा समस्या देखिएको छ भने पनि गर्भपतनको जोखिम हुन्छ । सेप्टेट गर्भाशयमा पाठेघरको माथिल्लो भाग

पानबुट्टे आकारको हुन्छ । जुन सानो, ठूलो जुनसुकै आकारको हुनसक्छ । सेप्टेट गर्भाशयको समस्या भएकामा गर्भाधारण हुन्छ तर पाठेघरको भ्रूण विकसित हुने ठाउँ नपाएर गर्भपतन हुने जोखिम बढी हुन्छ । बाइकोर्निएट गर्भाशय भएकाको पाठेघर

दुई फ्याक भएको हुने हुनाले भ्रूणको वृद्धिसँगै ठाउँ अभाव हुँदा गर्भपतन हुनसक्छ । पाठेघरको मुख एकदम खुकुलो भएमा पनि दोस्रो त्रैमासिकमा गर्भपतन हुनसक्छ । पाठेघरमा भ्रूण बस्ने ठाउँमा मासु पलाउँदा पनि बारम्बार गर्भपतन हुनसक्छ ।

त्यस्तै अनिच्छित गर्भधारण हुँदा बारम्बार औषधिको सेवन वा उपकरणको सहायताले गर्भपतन गरेको खण्डमा पनि पाठेघरमा नकारात्मक असर परेको हुन्छ । पाठेघरको भित्री तह पाठेघरको भित्तामा टाँसिने हुन्छ । जसले गर्दा पाठेघरमा

भ्रूण हुर्किन चाहिने ठाउँको कमी हुन्छ । यस्तोमा गर्भधारणमा समस्या नभएपनि भ्रूण बढ्दै गएपछि ठाउँ अभावले गर्भपतन हुनसक्छ । यसबाहेक भाइरस संक्रमण, ब्याक्टेरियल संक्रमण गर्दा पनि गर्भपतन हुनसक्छ ।

कतिपय महिलामा शरीरको प्रतिरोधात्मक क्षमतासम्बन्धी विसंगति (इम्युनोलोजिकल डिसअर्डर) रोगहरू जस्तै, एन्टिफोस्फोलिपिड एन्टिबडी (एपीएलए) एन्टिफस्फोलिपिड सिन्ड्रोम (एपीएस) र थ्रोम्बोफिलिया भएमा पनि

बारम्बार गर्भपतन हुने जोखिम हुन्छ । यसमा शरीरका रक्तनलीमा असामान्य रूपमा रगत जम्ने समस्या हुन्छ । यसले गर्दा शरीरमाक्तसञ्चारमा अवरोध भएर भ्रूणको वृद्धि विकास नहुने र बारम्बार गर्भपतन हुने गर्छ । अर्को अटोइम्युन

अर्थात् शरीरले आफ्नै प्रतिरक्षा प्रणालीविरुद्ध समस्या ल्याएमा पनि बारम्बार गर्भपतन हुन्छ । पोलिस्टिक ओभरियन डिजिज (पीसीओडी) समस्या कतिपय महिलामा हार्मोनको समस्याले पनि गर्भपतन भइरहेको हुन्छ । हार्मोनको उत्पादन

सामान्यभन्दा बढी हुन गएमा पोलिस्टिक ओभरियन डिजिज (पीसीओडी)को समस्या निम्तिन्छ । जसलाई मेडिकल भाषामा पोलिसिस्टिक ओभेरियन सिन्ड्रोम (पीसीओएस) भनिन्छ । यसमा हार्मोन असन्तुलन हुने र महिलाको डिम्बाशयमा

स-साना सिस्ट अर्थात् फोका आउने हुन्छ । यी स-साना तरल पदार्थयुक्त पानीको फोकाजस्तो डल्लो हुने अवस्थामा डिम्बको गुणस्तर राम्रो हुँदैन । यसले गर्दा महिलामा प्रजनन् (सन्तान उत्पादन) क्षमतामा कमी हुन जान्छ ।

गर्भ रहेपनि गर्भपतन हुने सम्भावना बढी हुन्छ । महिलाको शरीरमा प्रोजेस्टेरोन र ईस्ट्रोजेन हार्मोन हुन्छ, जसले पाठेघरको सुरक्षा गर्छ । गर्भवती महिलामा यी हार्मोनहरु असन्तुलित भएमा गर्भपतनको जोखिम बढ्छ ।

बढ्दो उमेर बढी उमेरमा गर्भधारण गर्दा पनि गर्भपतनको जोखिम हुन्छ । किनभने महिलाको बढ्दो उमेरसँगै डिम्बको संख्या र गुणस्तर कम हुँदै जान्छ । राम्रो भ्रूण बन्न नसक्दा बारम्बार गर्भपतन हुन्छ । त्यसैले २५ देखि ३० वर्षको

उमेरमा गर्भधारण गर्नु उत्तम हुन्छ । त्यस्तै ४० वर्षपछि पुरुषको वीर्यको गुणस्तर पनि कम हुने भएकाले चुनौती थपिंदै जान्छ । दुईपटकभन्दा बढी प्राकृतिक रुपमै गर्भपतन भएको छ भने फेरि गर्भधारण गर्नुपूर्व प्रसूति तथा स्त्रीरोग विशेषज्ञसँग परामर्श लिनुपर्छ । दम्पतीले चिकित्सकको परामर्श अनुरुप शारीरिक परीक्षण गराएर मात्र गर्भधारण गर्नु उपयुक्त हुन्छ ।