तनहुँको अकलादेवी मन्दिर, जहाँ कसैले नहल्लाइकन पनि घण्ट आफैं हल्लिन्छ ! धर्मदर्शन तनहुँको अकलादेवी मन्दिर, जहाँ कसैले नहल्लाइकन पनि घण्ट आफैं हल्लिन्छ !
तनहुँको म्याग्दे गाउँपालिका–३ किल्चोकस्थित निकै पुरानो धार्मिक स्थल अकलादेवी मन्दिरलाई उजिल्याउन स्थानीयवासी जुटेका छन् । यस ठाउँलाई धार्मिक पर्यटनको गन्तव्य स्थल बनाउन सकिने भए पनि प्रचारप्रसारको अभावमा ओझेलमा परेको भन्दै स्थानीयवासी यस ठाउँको प्रचारप्रसारका लागि जुर्मुराएका हुन् ।
मन्दिरको आफ्नै विशेषता छ, त्यो हो – मन्दिरमा रहेका घण्ट आफैं हल्लिनु । धेरैलाई यो सुन्दा आश्चर्य लाग्ला । कसैले नहल्लाइकन पनि घण्ट आफैं हल्लिन्छ र ? तर, मन्दिरमा रहेका घण्ट आफैं हल्लिएको देख्दा
यहाँका स्थानीयवासी मात्र होइन मन्दिरमा पूजाअर्चना गर्न जाने भक्तजन समेत चकित पर्ने गरेका छन् । अकलादेवी खुशी भएका बेला मन्दिरभित्र रहेको घण्ट आफैं हल्लिने र बज्ने गरेको स्थानीय बासिन्दाको भनाइ छ ।
देवी प्रशन्न भएको अवस्थामा रातको समयमा घण्ट बज्ने गरेको स्थानीयवासी बालहरि घिमिरे बताउँछन् । “यज्ञयज्ञादि, धार्मिक अनुष्ठान र पञ्चबलि दिएका बेला देवी प्रशन्न भएर घण्ट बज्ने र हल्लने गरेको छ,” उनले
भने – “यो दैवीशक्तिको चमत्कार हो ।” विसं २०४२ देखि मन्दिरमा शङ्ख र घण्ट बजेको सुनिन थालेको स्थानीयवासी बताउँछन् । त्यो बेला तत्कालीन प्रज्ञा पण्डित गङ्गाधर घिमिरेलगायत स्थानीयवासीले यस बारेमा
जानकारी गराएपछि ‘यो दैवीशक्ति हो र यसको संरक्षणका लागि केही काम गर्नुपर्छ’ भनेर संरक्षणको काम शुरु स्थानीयवासी बताउँछन् ।अकला मन्दिरको बाहिर पुरानो आदिकालदेखिको
सिंह र नन्दिनी अर्थात् साढेको स्तम्भ छ । उक्त प्रतिमा निकै पुरानो रहेको अनुमान लगाइन्छ । मन्दिर नजिकै पञ्चबलि दिने स्थान र हवनकुण्ड पनि छ ।अकलादेवी मन्दिरको दक्षिण पश्चिममा रुद्रदेवीको मन्दिर छ । अकलादेवी र रुद्रदेवीको महिमा गानका लागि वर्षमा चार वटा रुद्री लगाउने गरिन्छ । यस ठाउँमा हरेक वर्ष वैशाख, साउन, कात्तिक र माघमा रुद्री लगाउने प्रचलन रहिआएको छ ।