के बेलाबखत तपाईं बाल्यकालमा फर्किएर हेर्नुहुन्छ ? कसरी रमाउनुहुन्थ्यो ? कसरी खेल्नुहुन्थ्यो ? साथीसँगी कस्ता थिए ? के खेल्नुहुन्थ्यो ? कुन कुराले फुरुक्क बनाउँथ्यो ?

एकपटक बाल्यकालमा फर्किएर हेर्नुहोस्, तपाईं यसै रोमाञ्चक बन्नुहुनेछ । किनभने त्यसबेला गरिएका स-साना गल्तीहरु, बदमासी, मूर्खता पनि तपाईंलाई आज रमाइलो लाग्छ । बाल्यकालमा हामीसँग खुसी हुने कति धेरै कुरा थिए । हावामा बयेली खेलिरहेको फूलहरु देख्दा हामी त्यसै फुर्किन्थ्यौं। फूलमाथि उडिरहेका पुतलीहरु देखेर दंग पर्थ्यौं ।

पानीमा तैरिरहेका माछाहरु देखेर हामीमा अनेक उत्सुकता पैदा हुन्थ्यो । सप्तरंगी इन्द्रेणी देख्दा हामी उमङ्गित हुन्थ्यौं । हामी मनमा जे लाग्छ, त्यही बोल्थ्यौं । सरल थियौं । स्वच्छ थियौं । छल, कपट, बेइमानी गर्न सिकेका थिएनौं ।

आज उमेर ढल्किदै जाँदा हामी यी सबै कुराबाट खुशी, उत्साहित भइरहेका हुँदैनौं । किन ? किनभने बाल्यकालमा हामी वर्तमानमा रमाउँथ्यौं । हिजो के भयो ? भोलि के हुनेछ ? हामीलाई सरोकार हुँदैनथ्यो । आफ्नो आँखाले जे देख्छ, जतिबेला देख्छ,

त्यही क्षण हामी आफ्नो प्रतिक्रिया जनाउने गर्थ्यो । केही राम्रो कुरा देख्नसाथ खुशी हुन्थ्यौं । उत्साहित हुन्थ्यौं । कसैले गाली गर्नसाथ तुरुन्तै रोइदिन्थ्यौं । कसैले स्यावासी दिनसाथ मख्ख पर्थ्यौं ।

मनमा कुनै गुनासो हुँदैनथ्यो । कसैप्रति घृणा जाग्दैनथ्यो । ईर्ष्या, द्वेष, अंहकार, दम्भ केही पनि थिएन । त्यसैले त हामी खुशी थियौं । फुरुक्क थियौं । कोही पराई थिएनन् । सबै आफ्ना लाग्थे ।

जे देखिन्छ, त्यही भन्थ्यौं । मनका कुरा लुकाउने, गाँठो पार्ने गरिँदैनथ्यो । न कसैप्रति आग्रह-पूर्वाग्रह नै थियो । सबैसँग सन्तुलित र हार्दिकतापूर्ण सम्बन्ध हुन्थ्यो । त्यसैले हामीमा छटपटी हुँदैनथ्यो । औडाहा हुँदैनथ्यो । सधै उमङ्गित, सधैं खुशी हुन्थ्यौं ।

आफूलाई लागेको कुरा प्रष्ट भन्थ्यौं । जे देखेको हो, जे बुझेको हो, त्यही कुरा भन्थ्यौं । कुरा लुकाउने वा चपाउने प्रवृत्ति विकास भएकै थिएन । आमाबुबासँग होस वा साथीसंगीसँग हामी चित्त नबुझेको कुरामा तुरुन्त प्रतिक्रिया जनाउँथ्यौं । झगडा गर्थ्याैं ।

र, तुरुन्तै हाम्रो मनको मैला पखालिन्थ्यो । हामी पुनः उही साथीसँग रमाउँदै खेल्न पुग्थ्यौं । तर, जति-जति हुर्कँदै गयौ हाम्रा खुशीहरु निथ्रिँदै गए । खुशी हुनका लागि, रमाउनका लागि हामीलाई अरु थुप्रै बहाना चाहिन थाल्यो । सानो छँदा कसैले एउटा

चकलेट दिएमा मख्ख पर्ने हामी पछि भने भएभरका कुरा पाएर पनि मनमा गुनासो रहिरह्यो । अपेक्षाहरु बढ्यो । अरुप्रति निर्भर गर्न थाल्यौं, अरुको निन्दा गर्न थाल्यौं। यसरी हाम्रा खुशी र उमंगहरु निथ्रिँदै गए।

आजको दिन तपाईं आफ्नो बाल्यकालमा फर्कनुहोस् । तपाईं कस्तो हुनुहुन्थ्यो ? कसरी रमाउनुहुन्थ्यो ? बाल्यकालमा हामीलाई जे लाग्छ, त्यही गर्थ्यौं । मनमा कुनै कुरा गुम्साएर वा खुम्च्याएर राख्दैनथ्यौं ।

हरेक चिजलाई उत्सुकतापूर्वक हेर्ने गर्थ्यौं । नयाँ चिजप्रति हाम्रो सधैं जिज्ञासा हुन्थ्यो । त्यसैले त हामीले बाल्यकालमा धेरै कुराहरु जान्न र सिक्न सक्यौं । बाल्यकालमा हामीसँग ठूलाठूला आकांक्षा

थिएनन् । अपेक्षा थिएन ।  त्यसैले हामी जे जति प्राप्त गर्थ्यौं, त्यसैमा सन्तुष्ट हुन्थ्यौं । खुशी हुन्थ्यौं । तनाव थिएन । नयाँ कुरा जान्न र सिक्न उत्सुक थियौं । जे देख्छौं, त्यसमाथि प्रश्न गर्थ्यौं। हामी आफ्ना गल्तीबाट केही सिक्ने प्रयास गर्थ्यौं। त्यसैले गल्तीसँग डर मान्दैनथ्यौं ।सम्झनुहोस् त ती दिनहरु कति सुन्दर थिए ?