म ३० वर्षीय व्यक्ति हुँ । विवाह गरेको आठ महिना भयो, तर आजसम्म श्रीमतीसँग कुनै अस्थायी साधन प्रयोग नगरी सम्पर्क गरिरहेको छु । जहिले पनि स्खलन हुने बेलामा लिंग बाहिर निकाल्छु, तर

निकाल्दा एकदम गार्हो हुन्छ, निकाल्न मनै लाग्दैन । श्रीमतीलाई कुनै औषधि प्रयोग गरूँभन्दा असर हुन्छ, पछि बच्चा नरहन सक्छ भनेर मान्दिनन् । त्यसैले तपाईंसँग सल्लाह लिन चाहन्छु । कुन औषधि प्रयोग गर्दा राम्रो होला ? अनि महिनावारी भएको कति–कति दिनमा गर्भ रहन सक्छ ? महिनावारी भएदेखि कुन–कुन

दिनमा चाहिँ ढुक्कसाथ सम्पर्क गर्न सकिन्छ ? कृपया स्पष्ट पारिदिनुहोला । तपाईंलाई थाहै होला, महिलामा महिनामा एकपल्ट मात्र डिम्ब निष्कासन हुन्छ । गर्भ रहन पुरुषबाट आएको शुक्रकीट र डिम्बको मिलन जरुरी हुन्छ ।

त्यसैले वीर्य स्खलन योनिभित्रै भएको स्थितिमा पनि डिम्ब निष्कासनको समयसँग मिल्नु आवश्यक छ । गर्भनिरोधको कुरा विवाहित जीवनमा यौनसम्पर्क पर्याप्त मात्रामा गरिने भएकाले गर्भ नरहोस् भन्नाका लागि भरपर्दो गर्भनिरोधको उपाय अपनाउनु

नै श्रेयष्कर हुन्छ । छोटो समयका लागि गर्भनिरोध चाहिएमा कन्डम, खाने चक्की तथा तीन महिने सुई निकै प्रभावकारी उपायहरू हुन् । कपर–टी र नरप्लान्ट केही लामो समयका लागि उपयुक्त साधन हुन् । यी साधनको प्रयोग सुरु

गर्नुअघि परिवार नियोजन सेवा केन्द्र, प्रजनन स्वास्थ्यका सेवा केन्द्र वा अस्पतालबाट यी साधनको प्रयोगका बारेमा राम्रोसँग परामर्श लिनु राम्रो हुन्छ । सो गर्दा साधनहरूका बारेमा विस्तृत रूपमा थाहा हुने मात्र होइन, कुन साधन

आफूलाई सबैभन्दा उपयुक्त हुन्छ, आफैंले रोज्न पाइन्छ । अरूले तपाईंका लागि यो साधन प्रयोग गर्नुहोस् भनेर सल्लाह दिनु उपयुक्त मानिँदैन, किनकि यो कुरा प्रयोग गर्ने व्यक्तिको रोजाइमा भर पर्ने गर्छ ।

गर्भनिरोधका प्रत्येक साधनका केही असर हुने भए पनि ती सामान्य किसिमका हुन्छन् र बिस्तारै कम भएर जान्छन् । प्रयोगमा अभ्यस्त भएपछि सो चासोको विषय पनि बन्दैनन् । यहाँ तपाईंले निर्धक्क यौनआनन्द प्राप्त गर्न

जुन सहयोग पाउनुहुन्छ त्यसको महत्व धेरै नै छ । अर्को कुरा, गर्भनिरोधका अस्थायी साधनको प्रयोग गर्न बन्द गरेपछि फेरि गर्भ नरहने भन्ने कुरामा कुनै सत्यता छैन । तपाईंले परामर्श लिन जाँदा थाहा पाउनु हुनेछ कि यी

साधन सही तरिकाले प्रयोग गरिएको हुनुपर्छ, नत्र गर्भ रहन सक्नेबारेमा सचेत गराउँछौं । स्थायी बन्ध्याकरणको हकमा मात्रै हामी पुनः गर्भ नरहने कुरा गर्छाैं । गर्भ नरहने सुरक्षित समय कुन होला ?

सामान्यः रूपमा भन्नुपर्दा गर्भधारण हुनका लागि मुख्य रूपमा १. डिम्ब निष्कासन, २. यौनसम्पर्क, ३. वीर्य स्खलन, ४. डिम्ब निषेचन तथा ५. डिम्ब रोपणजस्ता कुरा हुनु आवश्यक छ । शुक्रकीटसँग मिलन हुन डिम्ब निस्केको

बेलामा हुनु जरुरी छ । डिम्ब महिनाको एकपटक मात्र निष्कासन हुने गर्छ । डिम्ब निष्कासन हुने समयनजिक गर्भ रहने सम्भावना बढी हुन्छ ।यसै सन्दर्भमा महत्वपूर्ण बुझ्नुपर्ने कुरा के भने डिम्ब निस्केको यस्तै १४ दिनमा

महिनावारी सुरु हुन्छ । डिम्ब निस्केको यस्तै २४ घण्टा वा सोभन्दा केही बढीसम्म बाँच्छ भने महिलाको प्रजनन अङ्गभित्र शुक्रकीटहरू ७२ घण्टा वा त्योभन्दा बढी बाँच्न सक्छ, त्यसैले डिम्ब निस्कने केही अघिको र

केही दिनपछिको समयलाई गर्भधारणका दृष्टिले असुरक्षित काल मानिन्छ । महिनावारी ठीक २८ दिनमा नभई ढिलो–चाँडो हुन्छ भने ६ महिनासम्मको महिनावारीका

दिनहरूलाई विचार गर्नुपर्छ । सबैभन्दा छोटो महिनावारीबाट १८ दिन घटाउँदा गर्भवती हुन सक्ने पहिलो दिन पत्ता लाग्छ भने सबैभन्दा लामो दिनबाट ११ दिन घटाउँदा गर्भवती हुन

सक्ने अन्तिम दिन पत्ता लाग्छ । उदाहरणका लागि यदि कुनै महिलाको महिनावारी चाँडोमा २४ दिनको र ढिलोमा ३१ दिनको हुने रहेछ भने २४–१८= ६ हुन्छ, अर्थात् छैटौं दिनदेखि सम्भोग गर्दा गर्भ रहन सक्छ । ३१–११= २० हुन्छ, अर्थात् २० औं दिनभन्दा पछि यौनसम्पर्क गर्दा हुन्छ । माथिको हिसाबबाट तपाईंले पक्कै पनि के जवाफ पाइसक्नुभएको छ ।