शंख शंखेकिराको खबटाबाट बनेको एक प्रकारको वाद्ययन्त्र हो। धार्मिक कार्यमा प्रयोगमा ल्याइने शंख समुद्रमा पाइने जलचर प्राणीको खबटा हो । शंख धेरै जसो वामावर्त अथवा दक्षिणावर्तमा बनेको हुन्छ।

धार्मिक अवसर एवम् सांस्कृतिक कार्यमा यसलाई फूकेर बजाउने गरिन्छ । नेपाल, भारत, श्रीलंका, बंगलादेश लगायत हिन्दू धर्मावलम्वीहरु भएका मुलुकमा शंख बढी मात्रामा प्रयोगमा आउँछ । शंख विभिन्न किसिमका हुन्छन्, तीमध्ये दाहिने शंख बहुमूल्य हुन्छ । लाखौं शंखमा दाहिने शंख एउटा मात्र पाइने विश्वास गरिन्छ ।

हिन्दू धार्मिक ग्रन्थहरु रामायण, महाभारतमा शंखको महिमा तथा गुणगान गाइएको हुन्छ । हाम्रो समाजमा मंगल कार्यदेखि मृत्युजन्य शोकको घडीमा समेत शंखनादलाई महत्त्व दिइन्छ । शंख बजाउँदा त्यसको ध्वनिले विभिन्न प्रकारका

रोगाणु र विषाणुलाई मार्ने वर्णन ऋग्वेदमा छ । शंख महाभारतमा वर्णित एक राजा विराटको एक पुत्रको नाम पनि थियो । यो हिन्दु धर्ममा अति पवित्र मानिन्छ। यो धर्मको प्रतीक मानिन्छ। यो भगवान विष्णुको दायाँ माथिल्लो हातमा शोभायमान देखिन्छ।

बिहान र बेलुकी आरती गर्दा शंख बजाइन्छ । पूजापाठ सुरू गर्दा र सकिने बेलामा पनि शंख बजाइन्छ । कतिपय जातिमा मुर्दालाई घाट लैजाँदा शंख बजाउने चलन छ । आयुर्वेदअनुसार उपचारमा समेत शंखको प्रयोग गरिन्छ ।

शंख भस्म बनाउन शंखलाई माटोको भाँडोमा राखेर पाँच–छ फिट गहिरो खाल्डोमा गुइँठाले पोलेर निकाली घ्यूकुमारीको रसमा पिन्नु पर्छ । यसमा क्याल्सियम, क्याल्सियम सल्फेट, म्याग्नेसियम आदि तत्त्व प्रसस्त पाइन्छन् ।

शंख भस्म अम्लपित्त, अनुहारको चाया, डण्डीफोर र खत हटाउन उपयोगी मानिन्छ । अनिद्राको बिरामीलाई कानमा दुइटा शंख राख्दा समुद्री लहरको कर्णप्रिय आनन्दले निन्द्रा लगाउँछ

भने शंख जलले मुख धुँदा अनुहार उज्यालो चमक आउने विश्वास गरिन्छ । शंख यतिमात्र नभएर कान पाक्ने रोगको उपचारमा प्रयोग गरिन्छ भने मोतिविन्दु, रतन्धोलगायतका आँखासम्बन्धी रोगको उपचारमा समेत लाभदायक मानिन्छ । आयुर्वेदमा विभिन्न १५ रोगमा शंखबाट बनाइएका औषधी प्रयोग हुन्छन् ।