पौराणिक कालमा सोमबारे औँसी अत्यन्त कम पर्दथ्यो तर सुस्तरी कलियुगको सुरुवात सँगै धर्तीमा सोमबारे औँसीका तिथिहरू बढ्दो पर्न थाल्यो । कलियुगमा भक्तजनलाई मोक्ष अनि धर्मका लागि अधिक

अवसर दिने हेतुले चन्द्रमानमा धेरै यस्ता औँसीहरू परेको बताइन्छ । जुन सोमबारको दिन औँसी पर्दछ त्यही दिनलाई सोमबारे औँसी भनिन्छ, हाम्रो क्यालेन्डर अनुसार हरेक सात दिनपछि एउटा सोमबार पर्दछ भने हरेक महिनामा एउटा औँसी। तर सोमवार र औँसी मात्रको संयोग भने कहिलेकाहीँ मात्र हुने गर्दछ। वर्षभरि एकचोटी या दुइचोटीसम्म सोमबारे औँसी पर्दछ।

हिन्दु शास्त्र अनुसार भोलिको दिन मौन रहेर स्नान र ध्यान गर्नाले पुण्य प्राप्त हुने भनाइ चलि आएको छ। सोमबार चन्द्रमाको दिन हो। चन्द्रमा मनको प्रतीक र सूर्य मस्तिष्कको प्रतीक पनि हो। सोमबारलाई शिवजीको दिन पनि मानिन्छ

र भोलिको दिन भगवान् शिवजी मै समर्पित छ। सोमबारे औंसीको पूजा विधि: यसदिन घरका पूर्वजहरूलाई तर्पण दिने गरिन्छ । उनीहरूलाई शुद्ध रूपमा घरमा तयार पारिएको खानेकुराबाट उनीहरूलाई सन्तुष्ट गराउँदा आशीर्वाद मिल्छ

भन्ने विश्वास छ । यस दिन भोकानाङ्गालाई दिइने दानले विशेष महत्व राख्ने विश्वास गरिन्छ । यस दिन बिहानै उठेर कसैसँग पनि नबोली नुहाउने गरिन्छ । त्यसपछि विभिन्न मन्दिर र पिपलको रुखमा गएर पवित्र जल चढाउने गरिन्छ ।

अमावस्याको दिन घर या मन्दिरको उत्तरपूर्वी भागमा गाईको घिउको बत्ती बाल्ने गरिन्छ । कपासको सट्टा रातो रंगको धागो र केसर प्रयोग गर्नु राम्रो मानिन्छ । यसले लक्ष्मीलाई छिटै खुसी बनाउन सकिने मान्यता राखिन्छ ।

सोमबारे औँसीको एउटा प्रसङ्ग गएर विसं १९९० सालको माघ २ गतेको महाभूकम्पसँग गएर ठोकिन्छ, भोलि विसं १९९० को महाभूकम्पको दिन अनि तिथिलाई केलाएर सोमबारे औँसीको सन्दर्भ हेरौ।

विसं १९९० साल माघ २ गते ८ दशमलव ४ रेक्टर स्केलको भूकम्पले नेपाललाई छोप्यो, यस दिन पनि सोमबारे औँसी परेको थियो । त्यस दिन सोमबारे औँसी थियो। अनि त्यस दिन बेलुका मकर राशिमा सूर्य, चन्द्र, मङ्गल, बुध, शुक्र, शनि र

राहु एउटै राशिमा थिए। भोलि पनि सोमबारे औँसी हो। महाभूकम्प पछि सोमबारे औँसीलाई त्रास अनि भयका साथ पनि हेरिन थाल्यो, तर त्यसो हैन, सोमबारे औँसीको महात्मै

अनि महत्त्व सदियौँ देखि अविच्छिन्न अनि अटुट छ ।  यो पर्व स्नान या भनौँ दान दिनका लागि शुभ मानिन्छ। भोलिको दिनमा स्नानको लागि मात्र विभिन्न तिर्थस्थलमा टाढा टाढाबाट

भक्तजनहरू धाउने गर्दछन्। हिन्दु धर्मावलम्बी अनुसार भोलिको दिन “सोमबारे औँसी” को दिनको तिथि प्राप्त गर्न ठुलो संयोग या भाग्य चाहिने उल्लेख भएको छ। महाभारतका पात्रहरूले पनि आफ्नो जीवनकालमा भोलिको दिन अर्थात् सोमबारे औँसीको तिथि प्राप्त गर्न नसकेको भनाइ उल्लेख हुने गरेको बताइएको छ।